परिचय

१.१ पृष्ठभूमी

सुदूरपश्चिम प्रदेशको कंचनपुर जिल्लामा नेपाल भारत सिमानाको दक्षिण पश्चिम क्षेत्रको २८˚४२'२९"-२९˚०३'२७" अक्षाश र ८३˚०३'०८"-८०˚२५'५३" देशान्तरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वि.स. २०२६ सालमा बाह्रसिङ्गाको संरक्षण गर्ने मुख्य उद्देश्य राखेर शाही शिकार आरक्षको रुपमा स्थापना गरि संरक्षण गरिएको थियो । वि.स. २०३१ सालमा कार्यालय स्थापना भै वि.स. २०३३ सालमा १५५ वर्ग किलोमिटर क्षेत्रफलको शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा राजपत्र प्रकाशित भएको थियो । वि.स. २०३६ सालमा निकुञ्जको पूर्व तर्फको (चौधर नदी पूर्वको) १५० वर्ग किलोमिटर क्षेत्रलाई विस्तार गरि वि.स. २०५१ सालमा आरक्षको क्षेत्रफ़ल ३०५ वर्ग किलोमिटर बनाइएको थियो ।यस क्षेत्रको सम्भावनालाई मध्यनजर गरी पर्या-पर्यटन प्रवर्द्धन तथा यहाँ रहेको प्राकृतिक श्रोतको वुद्धिमतापूर्वक दिगो प्रयोग गर्ने उद्देश्यले नेपाल सरकारको वि.स. २०७३ पौष ७ गतेको निर्णय अनुसार साविकको चारकिल्लालाई मिति २०७३ साल फाल्गुन ९ गतेको राजपत्रमा प्रकाशित गरि आरक्षलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।

तालिका 1 शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग सम्बन्धित मुख्य घटना क्रमहरु

वर्ष

मुख्य घटनाहरु

वि.स. २०२६ (सन् १९६९)

१३१ वर्ग कि.मि. क्षेत्र शिकार आरक्ष घोषणा

वि.स. २०३३ (सन् १९7६)

चार किल्ला तोकी (१५५ वर्ग कि.मि.) शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा

वि.स. २०५१ (सन् १९९४)

चौधर नदी पूर्वको १५० वर्ग कि.मि. क्षेत्र थप गरिएको

वि.स. २०५७ (सन् २०००)

चितवन राष्ट्रिय निकुञ्जबाट ४ वटा (१ भाले, ३ पोथी) एक सिंगे गैडा स्थानान्तरण गरिएको

वि.स. २०६१ (सन् २००४)

चारकिल्ला तोकी मध्यवर्ती क्षेत्र घोषणा

वि.स. २०६९ (सन् २०१२)

Mini Zoo नेपालगञ्जबाट २२ वटा, सदर चिडियाखानाबाट ६ वटा, र खैरापुरबाट १४ वटा गरि जम्मा ४२ वटा कृष्णसार निकुञ्जको हिरापुरफाँटामा स्थानान्तरण गरिएको

वि.स. २०७३ (सन् २०१६)

Conservation Assured Tiger Standards (CATS) सुचिमा सुचिकृत

वि.स. २०७३ (सन् २०१७)

शुक्लाफाँटा वन्यजन्तु आरक्ष बाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको

वि.स. २०७३ (सन् २०१७)

चितवन राष्ट्रिय निकुञ्जबाट ५ वटा (१ भाले, ४ पोथी) एक सिंगे गैडा स्थानान्तरण गरिएको

वि.स. २०७४ (सन् २०१७)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ७ वटा (५ पोथी, २ भाले) बाह्रसिंगा चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको

वि.स. २०८० चैत्र ३

(सन् २०२४)

चितवन राष्ट्रिय निकुञ्जबाट २५ (3 भाले, २२ पोथी) वटा घडीयाल गोही ल्याई चौधर नदीमा छोडिएको

१.२ निकुञ्जको चारकिल्ला

यस निकुञ्जको चारकिल्ला विवरण वि.स. २०३३/०४/०४, २०५१/०२/०६ र २०७३/११/०९ गतेको राजपत्रहरुले प्रष्ट पार्दछ, सामान्यतया शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चारकिल्ला विवरण उल्लेख गर्दा तपसिल बमोजिम गराउने गरिएको छ । सम्बन्धित राजपत्रहरु अनुसूची-१ मा समावेश गरिएको छ ।

पूर्व: स्याली नदी

पश्चिम: महाकाली नदी साथै दोधारा चाँदनी नगरपालिकासँग जोडिएको नेपाल र भारत बिचको अन्तर्राष्ट्रिय सिमाना

उत्तर: वन क्षेत्र र आवादी क्षेत्र हुदैँ कंचनपुर र डडेल्धुरा जिल्लाको चुरे पहाडको सिमानासम्म

दक्षिण: आवादी क्षेत्र र नेपाल-भारत अन्तर्राष्ट्रिय सिमाना

दक्षिण पूर्वी सिमाना लालझाडी-मोहना जैविक मार्ग हुदै भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको छ, दक्षिणी सिमाना भारतको पिलिभित टाईगर रिजर्वसँग जोडिएको छ जस्लेगर्दा वन्यजन्तु सिमापार ओहोरोदोहोरो सहजता भएको पाईन्छ । उत्तरी सीमामा रहेको बुम-ब्रम्हादेव वन क्षेत्रले तराई देखि चुरे क्षेत्र र भारतको नन्धौर वाइल्ड लाइफ सेंचुरीसम्म जैविक मार्गको काम गर्दछ र उत्तरमा कंचनपुर र डडेल्धुरा जिल्लाको वन क्षेत्र र चुरे पहाडलाई जोड्ने भएकोले परिस्थिकीय प्रणालीको सन्तुलनमा यस निकुञ्जको महत्वपूर्ण भूमिका रहेको छ ।

१.३ मध्यवर्ती क्षेत्रको चारकिल्ला

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मिति २०५०/०२/२७ गतेको चौथो संशोधन पछि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरि राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको कुनै पनि क्षेत्रलाई चार किल्ला खोलि मध्यवर्ती क्षेत्र तोक्न सक्ने व्यवस्था भए बमोजिम मिति २०६१ जेष्ठ ९ गतेको राजपत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरिको २४३.५ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर मध्यवर्ती क्षेत्र तोकिएको थियो। विस्तृत विवरण अनुसूची-२ मा समावेश गरिएको छ ।

चित्र 1 शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको नक्सा

१.४ निकुञ्जका विशेषताहरु

  • नेपालकै सबैभन्दा बढी पाटेबाघको आहारा प्रजातिको घनत्व (१४६.२ प्रति वर्ग कि.मि.) भएको
  • विश्वमा संख्याको आधारमा ठुलो बाह्रसिंगाको झुण्ड पाइने
  • देशमानै अति संकटापन्न अवस्थामा रहेको खर मजुर, लाघुकर्ण खरायो र सुनौलो तोपचरा, घडियाल गोही पाइने,
  • Birdlife International ले सूचिकृत गरेको नेपालका 42 वटा Important Bird Areas (IBAs) मध्येको १ (एक),
  • अन्तर्राष्ट्रिय स्तरमा रहेको key Biodiversity Areas (KBAs) मध्येको एक
  • नेपालको सबैभन्दा ठुलो नदी तटीय घासेमैदान भएको
  • नेपालमा कृष्णसारको सफल पुनर्स्थापना गरिएको उदाहरण
  • नेपालमा पाइने ६ प्रजातिका मृगमध्ये बाह्रसिंगा, चित्तल, लगुना, रतुवा, र जरायो गरी ५ प्रजातिका मृग पाइने,
  • राष्ट्रियस्तरमा संरक्षित वन्यजन्तु पाटेबाघ, एक सिङ्गे गैडा, जंगली हात्ती, सुन गोहोरो, राज धनेश, सारस आदि पाइने,
  • बाघ संरक्षणमा भएको पहिचान बनाउन सफल तथा २०२२ मा TX2 Award बाट सम्मानित,
  • Conservation Assured Tiger Standards (CATS) सूचीमा सुचिकृत,
  • एक सिङ्गे गैडाको राम्रो बासस्थानको रुपमा पहिचान कायम सफल हुन पुगेको,
  • मध्यवर्ती क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागितामा कानूनी संरचनाहरुको व्यवस्था रहेको,
  • जैविक विविधता र सांस्कृतिक विविविधताको दृष्टिकोणबाट, मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको,
  • नेपालको सुदूरपश्चिम तराईको HotSpot मानिने,

WWF Global 200 Ecoregions मध्ये Terai-Dunar savannas and grasslands ecoregions समेटेको छ