NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व पारु - १

पर्यटक आकर्षकहरु

क. शुक्लाफाँटा घाँसेमैदान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मझगाउँ हेडक्वार्टरदेखि करिब २४ किलोमिटर दक्षिणमा अवस्थित शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान हो। यसको क्षेत्रफल ३४ वर्ग किलोमिटर रहेको छ। यस घाँसेमैदानमा विश्वकै सबैभन्दा ठूलो झुण्डको रूपमा बाह्रसिंगा पाइन्छ। हाल सो घाँसेमैदानमा २,१८२ वटा बाह्रसिंगाहरू रहेको विवरण प्राप्त भएको छ।


ख. रानीताल

निकुञ्जभित्रका सिमसार क्षेत्रहरूमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रको रूपमा रहेको रानीतालको विशेष महत्व छ। किंवदन्ती अनुसार, यस क्षेत्रका राजा सिंहपालले आफ्नी रानीहरूलाई नुहाउनका लागि ताल निर्माण गराएकाले यस तालको नाम “रानीताल” रहन गएको हो। यो सिमसार क्षेत्र एकसिंगे गैडा, पाटे बाघ, जंगली हात्ती, बाह्रसिंगा जस्ता वन्यजन्तुहरूका साथै विभिन्न प्रजातिका चराहरूको मुख्य बासस्थान भएकोले यो क्षेत्र पर्यटकहरूको लागि आकर्षक स्थलको रूपमा प्रसिद्ध छ।


ग. सिंहपाल बाबा मन्दिर

निकुञ्जभित्र रहेको सिंहपुर क्षेत्रमा, रानीताल र सिंहपुरबीचको वनपथको पूर्वतर्फ सिंहपाल बाबाको मन्दिर अवस्थित छ। किंवदन्ती अनुसार, यस क्षेत्रका राजा सिंहपालले स्थापना गरेकोले यस मन्दिरको नाम “सिंहपाल बाबा” रहेको हो। यो मन्दिर स्थानीय आदिवासी राना थारु समुदायका लागि धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ, र उनीहरू यस मन्दिरमा आफ्ना देवताको रूपमा पूजाआजा गर्ने गर्दछन्।


घ. शिलालेख क्षेत्र

निकुञ्जको बर्कौलाबाट शुक्लाफाँटा क्षेत्रतर्फको वनपथको पश्चिम करिब १ किलोमिटर दूरीमा अवस्थित शिलालेख क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल हो। राणाकालमा श्री ३ जुद्ध शमशेरले यस स्थानमा महायज्ञ गरी हजारौँ गाई दान गरेको उल्लेख शिलालेखमा गरिएको छ। उक्त ढुंगामा लेखिएको लेखलाई स्तम्भका रूपमा सुरक्षित राखिएकोले यस क्षेत्र “शिलालेख क्षेत्र”का नामले प्रसिद्ध भएको हो।


ङ. हिरापुर फाँटा क्षेत्र

नेपालमा संकटापन्न वन्यजन्तु कृष्णसार सुरुवाती रूपमा बर्दियाको खैरापुरमा मात्र संरक्षित थियो। यसको संरक्षण र व्यवस्थापन विस्तार गर्ने उद्देश्यले शुक्लाफाँटाको हिरापुर फाँटा क्षेत्रमा सम्भाव्यता अध्ययन गरी कृष्णसार स्थानान्तरण गर्ने निर्णय नेपाल सरकारले गरेको हो। सो निर्णयअनुसार प्रारम्भमा हिरापुर फाँटाको १७ हेक्टर क्षेत्रफल सोलार तारबारले घेरिएको थियो र त्यस क्षेत्रमा नेपालगञ्ज नगरपालिकामा पालिएका २२ वटा तथा सदर चिडियाखानामा रहेका ६ वटा गरी जम्मा २८ वटा कृष्णसार छाडिएका थिए। पछि निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा तारबारको क्षेत्रफल बढाई ५७ हेक्टर पुर्‍याइएको छ।


च. झोलुङ्गे पुल

निकुञ्जको पश्चिम सिमानामा पिपरिया हात्तिसार नजिकै महाकाली नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल नेपाल तथा एशियाकै पहिलो लामो झोलुङ्गे पुल हो। यस पुलले महाकाली नदी पारि अवस्थित महाकाली नगरपालिका (दोधारा र चाँदनी) लाई कञ्चनपुर जिल्लाको सदरमुकामसँग जोडेको छ, जसले आवतजावत सजिलो बनाएको छ। साथै यो पुल यस क्षेत्रका पर्यटकहरूको लागि पनि प्रमुख आकर्षण बनेको छ। “दोधारा–चाँदनी झोलुङ्गे पुल”का नामले चिनिने यस पुलको लम्बाइ १,४५२.९६ मिटर रहेको छ।


छ. कालिकिच ताल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बेलडाँडी पोष्टको पश्चिम किनारमा अवस्थित कालिकिच ताल एक सुन्दर सिमसार क्षेत्र हो। यो ताल मगर गोही र जलचर पक्षीहरूको प्रमुख बासस्थान मानिन्छ। यहाँ संकटापन्न तथा दुर्लभ सारस पनि देख्न सकिन्छ, र एकैपटक सातवटा सारस देखिएको अभिलेख छ। यस पंक्षीलाई बेलडाँडी क्षेत्रका खेतबारी र सिमसार क्षेत्रमा समेत विचरण गर्न देख्न सकिन्छ।


ज. निकुञ्जभित्रका सिमसार क्षेत्रहरू

निकुञ्जभित्रका अन्य सिमसार क्षेत्रहरू पनि आकर्षक स्थलका रूपमा रहेका छन्। प्रमुख सिमसार क्षेत्रहरूमा महाकाली नदी, बाहुनी खोला, चौधर नदी, राधा नदी, स्याली नदी, सोलगौडी ताल, शिकारी ताल, गौथली ताल, पडाउँ ताल, तारा ताल, बाबा ताल, लालपानी ताल, कुमारी ताल, तीनकुने ताल, लामि ताल, बाघ पोखरी, र सुके पोखरी समावेश छन्। यी सिमसार क्षेत्रमा वन्यजन्तुहरू पानी पिउने, आहाल खेल्ने लगायतका क्रियाकलाप गर्छन्। साथै, यी क्षेत्रहरूले रैथाने र आगन्तुक चराहरूलाई आश्रय दिने र चराचुरुङ्गीहरूको सुन्दर दृश्य प्रस्तुत गर्ने गर्दछन्।